काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब स्थानीय तह शहीद स्मारक मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडाको पिप्ले रंगशालामा मंगलबार मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।
मनाङले विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ र विमल घर्तीमगरलाई मैदानमा उतारेको थियो । तर, पुलिसलाई जित दिलाउन भरत शाहले निर्णायक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक खेलमा ३५ औं मिनेटमा भरतले बक्स बाहिरबाट उत्कृष्ट भली गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । गोलकिपर विशाल श्रेष्ठको क्लियरन्सलाई भरतले सीधै रोकेर विशालको गोलको माथिल्लो दायाँ कुनामा भली प्रहार गरे।
त्यसको पाँच मिनेटपछि विमललाई बक्समा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । तर, अञ्जन विष्टले स्पट किक लिन स्टेप गरे तर उनको प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए ।
दोस्रो हाफमा मनाङले धेरै अवसर सृजना गरेपनि शत्रुधनले उनको प्रत्येक प्रयासलाई असफल बनाए । पुलिस प्रशिक्षक अनन्तराज थापा, खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठलाई रेफ्रीसँग झगडा भएपछि खेलको अन्त्यतिर रातो कार्ड देखाइएको थियो ।
प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।