काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन नसक्ने बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुताईरीले सपना ठुलो देखेपनि वास्तविकतामा भन्दा नेपाल छनोट हुन नसक्ने बताए । तर, प्रशिक्षक अल्मुताईरीले छनोटमा कडा प्रतिस्पर्धा गर्ने बताए ।
'हामी एसिया कप छनोट हुन सक्दैनौं । यो सत्य हो । हामी यसको लागि धेरै पछी छौं । तपाई सपना देख्न सक्नु हुन्छ । तर, सत्य यो हो की यो निकै गाह्रो छ,' अल्मुताईरीले भने, 'सबै टिमको लागि महत्वपूर्ण छ । हामीले सक्दो लडाई गर्ने छौं । हामीसँग छनोट हुने सम्भावना छ ।'
प्रशिक्षक अल्मुताईरीले एसियन कपमा छनोट हुन नेपाललाई धेरै मेहेनतको आवश्यकता रहेको बताए ।
'हामी धेरै सपना देख्नु हुन्न । सत्यतामा बस्नु पर्छ । हामीले धेरै मेहनत गर्नु छ भन्ने बुझ्नु पर्छ । कुवेत घरेलु टिमको मौषम हाम्रो साथमा हुने छैन, जोर्डन एसियाको ठुलो टिम हो । एसिया कप छनोटको लागि हामीलाई धेरै मेहनत चाहिन्छ,' उनले भने ।
छनोटका लागि नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षक अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
प्रशिक्षक अल्मुताईरीले नेपालको समूह कठिन रहेको बताए ।
'हाम्रो समूह निकै कठिन ग्रुप हो । एसिया कपको अन्य ग्रुपमा कम्तिमा छनोट हुनसक्ने सम्भावना छ तर हामीसँग छैन । नेपालसँग एसिया कप छनोट हुने कुनै मौका छैन,' उनले भने, 'जोर्डनसँग १७ प्रोफेसनल खेलाडी छन्, इन्डोनेसिया सँग १३ खेलाडी युरोपमा खेल्छन्, हाम्रो २ खेलाडी प्रोफेसनल छन्, तर हामी सबैलाई गर्व गर्न सक्ने बनाउने छौं ।'
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
यस्तै प्रशिक्षक अल्मुताईरीले नेपालले ग्रासरुटमा ध्यान दिनुपर्ने बताए ।
'सिनियर टिमबाट सबै हुने हैन । ग्रासरुट बाट सुरुवात गर्दै आउनु पर्छ । हामीसँग कम्तिमा ५०-१०० नेपाली प्रशिक्षक ग्रासरुटको लागि हुनु पर्छ । नेपाल भर कम्तिमा २० एकेडेमी हुनु पर्छ । ग्रासरुटमा फोकस प्रतियोगिता चाहिन्छ', उनले थपे ।
भिडियो :