काठमाडौं । रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा निश्चित गरिसकेको छ र उसलाई घरेलु ला लिगाको शीर्ष स्थानमा पनि १२ अंकको अग्रता छ ।
लिगमा अब सात चरणका खेल मात्र बाँकी छन् । यो त सिजनको सुरुमा कोही पनि खेलाडी अथवा समर्थकले देख्न सक्ने सपनाको सुखद स्थिति हो ।
तर यो स्थितिको अर्को एउटा पाटो पनि छ । रियलले चेल्सीविरुद्धको दोस्रो लेगको क्वाटरफाइनल खेल १ सय २० मिनेट खेल्नु परेको थियो । ठीक यही बेला रियलका लागि कठिन चुनौती पनि तेर्सिएको छ, घरेलु लिगमा । रियलले लगातार दुई खेलमा सेभिया र ओसासुनाको सामना गर्न भ्रमणमा निस्कनेछ ।
च्याम्पियन्स लिग सेमिफाइनलका दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गरे लगतै तीन दिनको अन्तरमा छिमेकी एटलेटिको मड्रिडको सामना गर्न वान्डा मेट्रोपोलिटानो जानेछ । ला लिगामा अन्य सबै रियल कहिले चिम्पिएला र अगाडि बढौं भनेर कुरिरहेका छन् । यस्तोमा तय छ, रियलका लागि अबका केही दिन निकै गाह्रो हुन सक्नेछ ।
प्रशिक्षक कार्लो एन्सेलोटीका लागि समस्या के भन्दा लगातार खेलेर रियलका खेलाडीले निकै थाकेको महसुस गर्न सक्छन्, अनि चोटकै समस्या बल्झिन सक्छ । चेल्सीविरुद्धकै खेलमा मार्सेलो, नाचो र करिम बेन्जेमाले हल्का चोट बोकेका छन् । फेरलान्ड मेन्डीले त दुई साता नखेल्ने निश्चित भइसकेको छ । एन्सेलोटीका लागि यो पक्कै गाह्रो स्थिति हो ।
–मार्काको सहयोगमा ।