पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा पोखरा रंगशालामा जारी सावित्री निर्माण सेवा कास्की लिगको उपाधिका लागि शितल ज्योती युवा क्लब र हेम्जा युनाइटेड क्लब भिड्ने भएका छन् ।
बुधबार भएको पहिलो खेलमा भ्याली स्पोर्ट्स क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै शितलज्योती फाईनलमा प्रवेश गरेको हो । शितलज्योतीको जितमा खेलको २९ औं मिनेटमा प्रतिक गुरुङले गोल गरे । त्यसैगरी ३५ औं मिनेटमा अविशेष थापाले दोस्रो गोल गरे ।
खेलको ५९ औं मिनेटमा सहिल गुरुङले तेस्रो गोल थपे भने दोस्रो हाफको ६५ औं मिनेटमा सरोज विकले निर्णायक गोल गरे । भ्यालीको तर्फबाट विजय गुरुङ, अजय श्रेष्ठ र सिद्धान्त गुरुङले समान १ गोल फर्काएका थिए ।
त्यसैगरी हेम्जा युनाईटेडले विष्णुपादुकालाई २–१ गोल अन्तरले हरायो । हेम्जा युनाईटेडको जितमा खेलको पहिलो मिनेटमै विशाल विकले गोल गर्दै अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा विष्णु पादुकाको तर्फबाट राजन थापाले १ गोल गर्दै खेल बराबरीमा फर्काए । निकै प्रतिस्पर्धात्मक भएको खेलमा ६० औं मिनेटमा हेम्जा युनाईटेडका कृष्ण खड्काले निर्णायक गोल गर्दै टिमलाई जिताए ।
लिग विजेताले दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधै भाग लिन पाउने संयोजक नरप्रसाद गुरुङले जानकारी दिए । लिग विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार प्राप्त गर्ने छ ।