काठमाडौं । सामाजिक युथ क्लब सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार आफ्नो अन्तिम खेलमा खुमलटार युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि सामाजिक घटुवा भएको हो ।
सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २-१ को जित निकालेको हो ।
यस हारसँगै सामाजिकले १३ खेलमा १४ अंक जोड्यो । सामाजिक १३ औं स्थानमा रह्यो ।
खुमलटार भने ए डिभिजन लिगमा उक्लिएको छ ।
खुमलटारले १३ खेलमा २२ अंक जोड्यो । र, लिगको दोस्रो स्थानमा रह्यो ।
रानीपोखरी कर्नर टिम (आरसिटी) सँग समान २२ अंक भएपनि हेड टु हेडमा खुमलटार अघि रह्यो ।
आइतबार भएको आफ्नो अन्तिम खेलमा आरसिटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
आरसिटी तेस्रो स्थानमा रह्यो ।