काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा बढुवा भएको छ ।
'बी' डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार सामाजिक युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा महत्वपूर्ण खेलमा सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २-१ को जित निकालेको हो ।
जितसँगै खुमलटार 'बी' लिगको दोस्रो स्थानमा रहदै शीर्ष डिभिजनमा उक्लिएको हो ।
२०६१ सालमा स्थापना भएको खुमलटार पहिलो पटक शीर्ष लिगमा उक्लिएको हो ।
खुमलटारले १३ खेलमा २२ अंक जोड्यो । र, लिगको दोस्रो स्थानमा रह्यो ।
रानीपोखरी कर्नर टिम (आरसिटी) सँग समान २२ अंक भएपनि हेड टु हेडमा खुमलटार अघि रह्यो ।
आइतबार भएको आफ्नो अन्तिम खेलमा आरसिटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
'बी' लिगको उपाधि भने चर्च ब्वाइज युनाईटेडले जितेको छ ।
खुमलटारसँग पराजित सामाजिक भने रेलिगेसनमा परेको छ ।
सामाजिकले १३ खेलमा १४ अंक जोड्यो ।
यस अघि झम्सिखेल युथ क्लब रेलिगेसनमा परेको थियो ।