काठमाडौं । इंग्लिस प्रिमियर लिगका दुई चिरपरिचित प्रतिद्वन्दी म्यानचेस्टर सिटी र लिभरपुल आईतबार निकै महत्वपूर्ण खेलमा आमनेसामने हुँदैछन् । जुन खेल केही हदसम्म दुबै टिमको उपाधि दौडमा निर्णायक सावित हुने निश्चित छ ।
दुबै महारथी म्यानचेस्टर सिटी र लिभरपुल अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका छन् । सिटी डिफेन्डिङ च्याम्पियन हो र तालिकाको शीर्ष स्थानमा उसको एक अंकको अग्रता छ । यो बिचमा जनवरीमा लिएको १४ अंकको अग्रता र त्यसको फाइदा उसले गुमाइसकेको छ ।
इतिहाद यात्रामा निस्कनु अघि लिभरपुल लगातार १० खेलमा अपराजित छ । लिगमा अब ७ खेल खेल्न बाँकी रहेको 'मर्सिसाइड' क्लब उपाधि दौडमा नजिक छ । उसले लिग लिडरलाई पराजित गरेमा 'ब्लु मुन' शीर्ष स्थानबाट हट्नेछ र लिभरपुलसँग २ अंकको अग्रता हुनेछ ।
गत वर्षको अक्टोबरमा यि दुई जायन्टहरु लिभरपुलको घर एनफिल्डमा भेटेका थिए । उक्त भेटमा कुनै टोलीको पक्षमा नतिजा नआएपनि सम्पुर्ण फुटबल जगतले यो खेलको तारिफ गर्यो । कारण २-२ को बराबरीमा सकिएको त्यो खेल प्रिमियर लिगको यो सिजनकै उत्कृष्ट खेल थियो ।
पछिल्लो १० बर्ष यता सिटी र लिभरपुल बिचको खेललाई सर्वोत्कृष्ट स्तरमा दाँज्नेहरु बढिरहेका छन् । म्यानचेस्टर सिटीसँग आईतबारको खेलअघि लिभरपुलका लेजेन्ड जेमी कारगरले यस खेललाई इङलिस फुटबल इतिहासको सबैभन्दा ठूलो प्रतिद्वन्दी घोषणा गरेर 'हाइप' बढाइदिएका छन् ।
पूर्व डिफेन्डर जेमी भन्छन् 'यसलाई सन् १९९० को दशकको अन्त्यसम्म र सन् २००० को सुरुमा म्यानचेस्टर युनाइटेड र आर्सनल बीचको लडाईसँग तुलना गर्न सकिन्छ । लिभरपुलविरुद्ध म्यानचेस्टर सिटी इङलिस फुटबल इतिहासमा सबैभन्दा ठूलो, सबैभन्दा तीव्र र उच्च गुणस्तरको प्रतिद्वन्द्वी बनेको छ ।' कारगरले भने, 'यसमा एउटा विशिष्टता छ । यो पहिलो पटक हो कि इंग्ल्यान्डका दुई उत्कृष्ट टोलीहरू विश्वका दुई उत्कृष्ट टोली हुन्, जसको नेतृत्व तिनीहरूको पुस्ताका दुई उत्कृष्ट प्रशिक्षकहरूले गर्दै छन् ।'
जिमि थप्छन् 'म म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सीका प्रशंसकबाट असन्तुष्टि सुन्न सक्छु । किनभने म यो तर्क गर्छु, त्यहाँ धेरै धेरै हेड-टू-हेड तुलनाहरू गर्न सकिन्छ तर मैले सर एलेक्स फर्गुसन र आर्सेन वेंगर बिच युरोपेली प्रतिस्पर्धामा त्यो द्वन्द्व देखिन जुन अहिले सिटी र लिभरपुल ले देखाइरहेका छन्।'
सिटी र लिभरपुल बीचको प्रतिस्पर्धा 'बक्सको जादु' हो किनकी संसारका उत्कृष्ट खेलाडीहरु यि दुई क्लबमा छन् । केभिन डि ब्रुयना, मोहम्मद सलाह जस्ता खेलाडीहरु महान प्रशिक्षकहरू युर्गेन क्लोप र पेप गार्डियोलाद्वारा निर्देशित छन् । उनीहरूले एकअर्कालाई असाधारण स्तरमा धकेलिरहेका छन् ।
जर्मन पत्रकार गुइडो शेफर जसले जर्मनीबाट नै क्लोप (डर्टमन्ड) र पेप (बायर्न म्युनिख) विचको प्रतिस्पर्धा देख्दै आएका छन् । उनी भन्छन् 'पेपविरुद्धको प्रतिस्पर्धा क्लोपको लागि धेरै महत्त्वपूर्ण छ । यिनै ठूलो चुनौतीका कारण उनी विगतका वर्षहरूको तुलनामा धेरै राम्रो प्रशिक्षक हुन् ।'
पेपको आफ्नै मन, सोच र अनुभव छ । उनले बुझेका छन् कि उनलाई उत्कृष्ट खेलाडी, उत्कृष्ट फिजियो, उत्कृष्ट प्रशिक्षक, यहाँ सम्मकी बस चालक पनि उत्कृष्ट चाहिन्छ ।
क्लोप र पेप एकअर्कालाई उत्कृष्ट बनाउन दुबैको हात छ । एक अर्काबिरुद्ध गाली गलौज गरेर मात्र प्रतिद्वन्दी भइदैन । उनिहरु एक अर्काको सम्मानमा कुनै कसर बाँकी राख्दैनन् । त्यसैले यो 'फ्रेस हाइ प्रोफाइल राइभ्लरी' हो जुन शुद्ध छ ।
अझ पत्रकार सम्मेलनमा युर्गेन क्लोपले पेपलाई 'संसारकै सर्वोत्कृष्ट प्रशिक्षक भन्दै उनको प्रतिद्वन्दी हुनुमा साँच्चै खुसी' व्यक्त गरे ।
जवाफमा पेप ग्वार्डिवलाले भनेका छन् 'धन्यवाद युर्गेन, जब म भविष्यमा आफ्नो इंग्ल्यान्ड बसाई सम्झिनेछु पक्कै पनि क्लोप र लिभरपुललाई आफ्नो सबैभन्दा ठुलो प्रतिद्वन्दी को रुपमा सम्झिने छु ।'
दुवै क्लबहरू सन् १९७६-७७ सिजनमा उपाधिको दौडमा थिए, यद्यपि लिभरपुल र म्यानचेस्टर सिटी बिचको आधुनिक प्रतिद्वन्द्वी सन् २०१० को दशकबाट सुरु भएको हो । सन् २०१३–१४ सिजनको उपाधिको लागि सिटीले अन्तिम दिनमा लिभरपुललाई मात्र दुई अंकले पराजित गरेको थियो । त्यसपछि क्लोपले लिभरपुल सम्हाले सन् २०१५ बाट । ग्वार्डिओला पनि जर्मनीबाट म्यानचेस्टर आइपुगे र सुरु भयो इङलिस फुटबल को नयाँ अध्याय ।
सन् २०१५–१६ फुटबल लिग कपको फाइनलमा सिटीले लिभरपुललाई पेनाल्टीमा हराएको थियो ।
लिभरपुल र म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग २०१७-१८ को क्वाटरफाइनलमा भिडे, जहाँ लिभरपुलले समग्रमा ५–१ को जित निकालेर फाइनल पुग्यो र प्रतियोगिता जित्यो ।
सिटीले २०१८-१९ सिजनको अन्तिम दिन फेरि उपाधि जित्यो । सिटीको ९८ अंक र लिभरपुलको ९७ अंक हुँदा प्रिमियर लिग इतिहासकै तेस्रो र चौथो सर्वाधिक अंक थियो । अर्को सिजन लिभरपुलले उपाधि जित्यो, ९९ अंक (दोस्रो स्थानको सबैभन्दा उच्च प्रिमियर लिग अंक), उपविजेता सिटी भन्दा १८ अंक माथि ।
लिभरपुल ३० बर्षको अन्तरालमा पहिलो पटक च्याम्पियन बनेपछि पहिलो खेलमा सिटीले लिभरपुललाई 'गार्ड अफ अनर' दिएको थियो ।
अझ महत्वपूर्ण तथ्य सन् २०१८-१९ पछिको प्रिमियर लिगमा अंकको योगफल गणना गर्दा मात्र सिटीले ३३८ र लिभरपुलले ३३७ अंक जोडेका छन् ।
समग्रमा प्रिमियर लिगमा मात्र नभई विश्व फुटबलका हरेक उपाधिमा दाबेदारको रुपमा दुबै टोली रहेका हुन्छन् । अहिले त यस्तो अवस्था आएको छ, विश्व को सबैभन्दा प्रतिस्पर्धात्मक र उत्कृष्ट लिग मानिने इङलिस प्रिमियर लिग लाई म्यानचेस्टर सिटी र लिभरपुलले मात्र 'दुई घोडाको' दौड बनाएका छन्।