काठमाडौं । सहिद स्मारक 'बी’ डिभिजन लिग फुटबलको सिजन अन्त्यतिर छ । लिगको अन्तिम ४ खेल बाँकी रहँदा बढुवा हुने र घटुवामा पर्ने दुई स्थानका लागि निकै रोमान्चक भिडन्त हुने देखिएको छ ।
लिगमा दोस्रो स्थानमा रहेर 'ए’ डिभिजन पुग्ने होड र पुछारबाट दोस्रो भएर रेलिगेसनमा पर्ने ‘क्लाइमेक्स’ हेर्न लायक देखिन्छ ।
चर्च ब्वाइज युनाइटेडले एक खेल अगावै उपाधि कब्जा गर्दै शीर्ष डिभिजनमा पहिलो पटक बढुवा भएको छ । झम्सिखेल क्लब भने लिग नसकिँदै तालिकाको पुछारमा रहँदै ’सी’ डिभिजनमा घटुवा भएको छ ।
'ए’ डिभिजनमा उक्लिन २१ अंक रहेको रानीपोखरी कर्नर टिम (आरसीटी) र १९ अंक रहेको खुमलटार युथ क्लबको चर्को प्रतिस्पर्धा छ । आफ्नो अन्तिम खेलमा आरसीटीले टुसाल युथ क्लब ( १४ अंक) सँग प्रतिस्पर्धा गर्दै छ । आइतबार आरसीटीले जित निकालेको खण्डमा लिगमा दोस्रो हुँदै 'ए’ डिभिजनमा बढुवा हुनेछ । तर उसले खेल हारेमा वा बराबरी गरेमा तेस्रो स्थानको खुमलटारको नतिजामा निर्भर रहनु पर्नेछ ।
उता, खुमलटारले आइतबार हुने खेलमा सामाजिक युथ क्लब (१४ अंक)सँग खेल्ने छ । आरसीटी पराजित वा बराबरी हुँदा मात्र खुमलटारको बाटो खुल्न सक्छ । त्यसको लागि खुमलटारले सामाजिक माथि जित निकाल्नै पर्ने हुन्छ । ’ए’ डिभिजन पुग्न खुमलटारलाई जित बाहेक अन्य बिकल्प छैन । उसलाई जितले मात्र पुग्दैन, आरसीटीको हार वा बराबरीको नतिजा चाहिन्छ ।
आरसीटीले जिते खुमलटारको सम्भावना समाप्त हुनेछ । तर आरसीटी खेलमा पराजित भएपनि खुमलटारले सामाजिकमाथि जित निकाल्न नसकेको अवस्थामा आरसीटी अघि बढ्ने सम्भावना रहन्छ ।
आरसीटीले खेल हार्दा र आफुले जित निकाले 'हेड टु हेड'को आधारमा खुमलटार दोस्रो स्थानमा उक्लिदै ’ए’ डिभिजनमा स्थान बनाउन सक्छ ।
त्यो भन्दा ठुलो प्रतिस्पर्धा रेलिगेशनबाट बच्नका लागि देखिन्छ । लिगको अन्तिम खेल खेल्न बाँकी रहेका क्लबसँग आगामी वर्ष कुन डिभिजन खेल्ने भन्ने निर्धारण गर्ने जिम्मा आफ्नै हातमा छ ।
रेलिगेसनबाट बच्ने दौडमा ७ टिम रहेका छन् । हालको तालिकामा सातौँ स्थानमा रहेको टिमदेखि १३ औं स्थानको टिमलाई रेलिगेशनको डर उत्तिकै छ ।
विरगन्ज युनाइटेड र सातौँ स्थानको श्रीकुमारी क्लबसँग १६ अंक छ । नयाँ बस्ती युथ क्लबको १५ अंक हुँदा मध्यपुर युथ क्लब, सामाजिक, टुसालसँग १४ र ब्वाइज युनियनसँग मात्र ९ अंक छ ।
अन्तिम खेल श्रीकुमारी र ब्वाइज युनियन, मध्यपुर र नयाँ बस्ति, आरसीटी र टुसाल तथा सामाजिक र खुमलटारले खेल्ने छन् ।
ब्वाइज युनियनले हार व्यहोरे सबै रेलिगेसनको खतरामा रहेका टिमको समस्या टर्ने छ । किनकी पराजित भएको ब्वाइज युनियन १३ अंकका साथ तालिकाको १३ औं स्थानमा यथावत रहेर रेलिगेशनमा पर्नेछ । यदि ब्वाइज युनियनले अन्तिम खेलमा जित निकालेमा रेलिगेसनबाट जोगिदै ’बी’ डिभिजनमा यथावत रहने छ । र अन्य ६ टिमको टाउको दुखाई बढ्ने छ ।
रेलिगेसनबाट बच्न संघर्षरत अन्य टिमले जित निकाले आफु सुरक्षित रहन सक्ने छन् । तर अन्तिम खेलमा पराजित भएमा ‘हेड टु हेड’मा भर पर्नु समिकरण देखिन्छ ।