सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले विजयी सुरुआत गरेको छ ।
देउराली स्पोर्टिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेल मैदानमा भएको उद्घाटन खेलमा सन्दकपुर स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले हराउँदै मोरङले सुखद सुरुआत गरेको हो ।
मोरङलाई जित दिलाउन रोजन राईले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा उनले गरेको गोलले मोरङ सेमिफाइनल प्रवेश गरेको छ । निर्णायक गोलकर्ता राई म्यान अफ दि म्याच घोषित भए ।
उनलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले नगद २ हजार र मेडल प्रदान गरे ।
प्रतियोगिता अन्तरगत दोश्रो क्वाटरफाइनल खेलमा जनता सेभेन सूर्योदय नगरपालिका इलाम र ज्यामिरगढी फुटबल क्ल्ब झापाबिच शनिबार खेल हुनेछ । आगामी बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीको ८ टिमको सहभागिता रहेको छ । विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।
प्रतियोगितालाई सन्दकपुर गाउँपालिकाले मुख्य सहयोग गरेको छ क्लबका अध्यक्ष लिला बुर्जाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष उदय राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष शोभा पराजुली, प्रमुख प्रशासकिय अधिकृत महेश राईको विशेष आतिथ्यता रहेको थियो ।