काठमाडौं । यही बेला एक वर्ष अगाडि फ्रान्क लाम्पार्ड आफ्नो खेल जीवनको नाजुक मोडमा थिए । चेल्सीले उनलाई बर्खास्त गरेको थियो ।
खेलाडीका रूपमा चेल्सीकै लेजेन्डरी रहेका लाम्पार्डले व्यवस्थापक भएर पनि क्लब सम्हाल्ने भएपछि खुबै माहौल तातेको थियो । तर अन्त्यमा उनी दुखद बर्खास्तीमा परे ।
चेल्सीका लागि सर्वाधिक गोलको कीर्तिमान यिनै लाम्पार्डको नाममा छ र अब उनले अर्को इंग्लिस प्रियिमर लिग क्लब एभर्टन सम्हाल्ने छन् । यसको औपचारिक घोषणा पनि भइसकेको छ । तर अहिले एभर्टन आफै नाजुक मोडमा छ र परिस्थिति आफै गम्भीर छ । यस्तोमा लाम्पार्डसामु चुनौतीको पहाड अगाडि छ ।
उनले चेल्सी सम्हाल्दा जुन खुसीको माहौल थियो, त्यो अहिले त्यो एभर्टनमा छैन् । डर के छ भने कतै लाम्पार्डले चेल्सीमा जे भोगे, त्यो एभर्टनमा पनि भयो भने ? खासमा एभर्टनको अहिलेको सबैभन्दा ठूलो चुनौती भन्नु नै रेलिगेसन क्षेत्रबाट जति सक्दो चाँडो टाढा रहनु हो, सके अंक तालिकाको मध्यभागमा उक्लिनु हो ।
के लाम्पार्ड गुडसन पार्कमा फेरि खुसी फर्काउन सक्छन् त ? अहिले तत्कालका लागि भने उनी भन्छन्, एभर्टनको जिम्मा पाउनु नै उनका लागि व्यक्तिगत रूपमा ठूलो उपलब्धी हो । उनकै भाषामा भन्दा एभर्टन पनि समृद्ध र लामो इतिहास भएकै क्लब हो ।
लाम्पार्ड भन्छन्, ‘हामीले एभरटनको स्थितिमा सुधार गर्नु नै पर्छ ।’