काठमाडौं । नेपालले शनिबार मरिससविरुद्ध खेलेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्पष्ट तीन कारणका लागि सम्झिने छ ।
पहिलो त नेपालले एक दशक भन्दा धेरै समयपछि पहिलो पल्ट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको थियो ।
दोस्रो यस खेलसँगै नेपाली टिमका लागि तीन खेलाडीले पुर्नआगमन रचे, विमल घर्तिमगर, जगजित श्रेष्ठ र देवेन्द्र तामाङ ।
तेस्रो कारण, यस खेलबाट दुई खेलाडीले नेपालका लागि डेब्यु गरे । संयोगले यी दुवै खेलाडी सातदोबाटोका थिए र यी हुन्, सुदीप गुरुङ र आकाश बुढामगर ।
मध्यपंक्तिका सुदीप सातदोबाटोका लागि त्यस्ता खेलाडी हुन्, जसले सहिद स्मारक लिग ए डिभिजन ०७८ का सबै नौ चरणका खेल खेलेका छन्, विना सब्टिच्युट भएर । त्यसबीच उनले एक गोल पनि गरे ।
अर्का मध्यपंक्तिका खेलाडी आकाशले पनि सबै नौ खेल खेलेका छन्, तर त्यसमध्ये एक खेलमा भने उनले पूरा खेल्न पाएनन्, सब्टिच्युट भए ।
यी दुई डेब्युसँगै नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पल्ट खेल्ने अवसर दिएका खेलाडीको संख्या १० पुगेको छ ।
अल्मुताइरीले डेब्युको अवसर दिएका खेलाडी को को हुन् त ? यो सूची यस्तो छ, गौत्तम श्रेष्ठ, मनीष डांगी, कमल थापा, सुरज ठकुरी, आयुष घलान, नितिन थापा, विशाल श्रेष्ठ, राजन गुरुङ, अनि तिनै सुदीप र आकाश ।
अब दोस्रो मैत्रीपूर्ण खेलमा अल्मुताइरीले कसलाई यस्तो मौका दिने हो, त्यो हेर्नलायक रहनेछ ।