काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीले हृदयबाटै खेलेको कारण जित निकाल्न सफल भएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मरिससलाई १-० गोल अन्तरले हराएपछि अलमुताइरीले बलियो टिमसँग खेलाडीले हृदयबाट खेलेको बताए ।
'खेलाडीले हृदयदेखि नै खले। उनीहरुले केही विशेष देखाए । हामीले शारीरिक रुपमा बलियो टिमसँग खेलिरहेका थियौं । एसिया कपको लागि हाम्रीले राम्रो तयारी गर्यौं,' अलमुताइरीले भने, 'एसिया कप छनोटमा हामीले खेलेका टिम जत्तिकै बलिया खेलाडी थिए । तर, आजको जित हामीलाई फाइदाजनक भयो ।'
नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरेका थिए । तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका विमलले उत्कृष्ट पुनरागमन गोल गरेका हुन्।
यस्तै प्रशिक्षक अलमुताइरीले आफु समर्थकप्रति नतमस्तक भएको बताए ।
'म धेरै खुसी छु। म मेरो परिवारका कारण यहाँ छु। मलाई नेपाली फ्यानले धेरै दिएका छन्, जुन कसैले मलाई दिएका थिएनन् । म समर्थकप्रति नतमस्तक छु,' उनले भने ।
मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले छोटो समयको तयारीले पनि राम्रो खेलेको बताए ।
'नेपाल राम्रो टिम थियो। मैले भन्नैपर्छ हामी ले पनि राम्रो खेल्यौँ। हिजो भनेजस्तै, हामीले साढे दुई वर्षदेखि खेलका थिएनौं। ४५ दिनको मात्र अभ्यास थियो,' उनले भने, 'कुनै बेला हामी दबाबमा आयौँ। त्यो नै टर्निङ पोइन्ट थियो । त्यस समय उनीहरुले स्कोर पनि गरे ।'