काठमाडौं । आहा रारा गोल्डकप फुटबलको २० औं संस्करणमा एपीएफका राजन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा विभागीय टिम एपीएफका राजन सर्वोत्कृष्ट खेलाडी घोषित बनेका हुन् । उनले अवार्डसँगै अप्रिलाको स्कुटर हात पारे ।
टाइब्रेकरमा मनाङलाई हराउँदै एपीएफले पहिलो पटक पोखरामा आहा रारा गोल्डकपको उपाधि उचालेको थियो ।
प्रतियोगिताको विधागतर्फको पुरस्कारमा समेत एपीएफकै बर्चस्व रह्यो ।
एपीएफका कुमार थापा प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै, एपीएफका रबि थिङ उत्कृष्ट मिडफिल्डर, एपीएफका राजन गुरुङ उत्कृष्ट डिफेन्डर, एपीएफका कुरियामा उत्कृष्ट गोलकिपर र एपीएफकै रबि थिङ सर्वाधिक गोलकर्ता चुनिए ।
मनाङका अलावले अफिज उत्कृष्ट फरवार्ड चुनिए । उनै अफिज पेनाल्टीमा चुक्दा ६ पटकको प्रतियोगिताको विजेता मनाङ उपाधिबाट बञ्चित बनेको थियो ।
विभागीय टिम आर्मीले फेयर प्ले अवार्ड प्राप्त गर्दा मनाङका रुपेश केसी प्लेयर अफ द फाइनल चुनिए ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । मनाङलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै एपीएफले उपाधि उचालेको हो ।