पोखरा । २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशाला जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका हुन् । अर्मान्ड बिडोमको पासमा उनले गोल गरे ।
यस्तै पहिलो हाफमा मनाङका डिफेन्डर आदित्य चौधरी चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।
आज दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रिएका छन् ।
६ पटक उपाधि जितिसकेको मनाङ ७ औं पटक उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा छ । एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।