पोखरा । २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् ।
एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ वर्षपछि फाइनलमा मनाङ संगको भेट पक्क गरेको हो ।
त्यस्तै मनाङले भने नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै तथा बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै १२ औं पल्ट फाइनलमा प्रवेश गरेको हो ।
६ पटक उपाधि जितिसकेको मनाङ ७ औं पटक उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा छ भने एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ ।
दुवै टिमका क्यापटेनले आफूहरु उपाधिको दाबेदार रहेको बताएका छन् । मनाङका क्याप्टेन विमल रानाले आफ्नो कप्तानीमा आहा रारा गोल्डकपको उपाधि जित्न आफू आतुर रहेको बताए । उनले एपीएफले राम्रो पदर्शन गरेको बताउँदै उपाधि चुम्नेगरी खेल्ने आफूहरुको रणनीति रहेको उल्लेख गरे ।
एपीएफका क्याप्टेन नवीन लामा पनि १४ वर्षपछि फाइनलमा पुग्नुलाई महत्वपूर्ण उपलब्धि ठान्दै उपाधि जित्ने गरी खेल प्रदर्शन गर्ने आफुहरुको योजना रहेको बताउँछन् ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । खेल शनिबार दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुने छ । कोरोनाका कारण बिना दर्शक सञ्चालन भएको प्रतियोगितामा सेमिफाइनलबाट भने सिमित दर्शक अर्थात एक तिहाइलाई मात्र प्रवेश दिइएको छ ।
आहा रारा गोल्डकपको हाल सम्मका विजेता टिमहरु -
-क्याराभान गोल्डकप २०५८– नेपाल पुलिस क्लब– मनाङ मर्स्याङ्दी क्लब २–१
-पहिलो आहा रारा गोल्डकप २०५९– नेपाल पुलिस क्लब– फ्रेन्ड्स क्लब १–० ।
-दोस्रो २०६०– मनाङ मर्स्याङ्दी क्लब– नेपाल पुलिस क्लब ३–१ ।
-तेस्रो २०६१– मनाङ मर्स्याङ्दी क्लब– नेपाल पुलिस क्लब ३–२ ।
-चौँथो २०६२– अफ्रिकन युनाइटेड क्लब– नेपाल पुलिस क्लब २–० ।
-पाँचौ २०६३– थ्रीस्टार क्लब– मनाङ मर्स्याङ्दी क्लब १–१ (५–४ टाइब्रेकर )
-छैठौं २०६४– नेपाल पुलिस क्लब– एपीएफ क्लब २–०
-सातौं २०६५– पुलिस क्लब– त्रिभुवन आर्मी ५–०
-आठौं २०६६– नेपाल पुलिस क्लब– त्रिभुवन आर्मी १–०
-नवौं २०६७– थ्रीस्टार क्लब– मनाङ मस्र्याङ्दी क्लब १–०
-दशौं २०६८– मनाङ मर्स्याङ्दी क्लब– जावलाखेल युथ क्लब २–०
-एघारौं २०६९– थ्रीस्टार क्लब– सहारा क्लब १–०
-बार्हौं २०७०– सहारा क्लब– मनाङ मर्स्याङ्दी क्लब १–०
-तेर्हौं २०७१– थ्रीस्टार– मनाङ मर्स्याङ्दी क्लब १–०
-चौधौं २०७२– मनाङ मर्स्याङ्दी क्लब– त्रिभुवन आर्मी क्लब १–०
-पन्ध्रौं २०७३– मनाङ मर्स्याङ्दी क्लब– सहारा क्लब १–०
-सोह्रौं २०७४– नेपाल पुलिस क्लब– थ्रीस्टार क्लब १–०
-सत्रौं २०७५– थ्रीस्टार क्लब– त्रिभुवन आर्मी क्लब २–२ (सडेन डेथमा थ्रीस्टार विजयी)
-अठारौं २०७६– मनाङ मर्स्याङ्दी क्लब– नेपाल पुलिस क्लब ४–३
-उन्नाइसौं २०७७– संकटा क्लब– अफ्रिकन रुट्स एसोसिएसन ४–३ (पेनाल्टी सुटआउटमा विजयी)
-बिसौं आहा रारा गोल्डकप २०७८– ?