काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा संकटा र च्यासल भिड्दा त्यो खेल पनि दुई विपरित दिशातर्फ अग्रसर टिमको खेल हुनेछ ।
संकटाले जहाँ उत्साहबर्ढक खेल प्रदर्शन गरेर उपाधि होडमा आफूलाई कायम गरिरहेको छ, त्यहीं च्यासल भने खराब लयमा छ र उसमाथि अहिले रेलिगेसनको चर्को दबाब छ ।
यी दुई टिमबीच माथिल्लो डिभिजनमा अहिलेसम्म जम्मा दुई खेल भएका छन्, त्यसमा दुवै टिमले एक एक जित निकालेका छन् ।
त्यसमध्ये वर्ष ०७६ मा च्यासल २–० ले विजयी रह्यो र त्यसमा दुवै गोल गरेका थिए, सन्तोष साहुखलले । वर्ष ०७५ मा भने संकटा विजयी रहेको थियो, २–१ ले ।
त्यसमा पनि च्यासलका लागि एक गोल फर्काएका थिए, तिनै सन्तोषले । तर त्यस अगाडि संकटाले दुई गोल गरिसकेको थियो र यी गोल गर्ने खेलाडी थिए, अमित तामाङ र एलोन म्याक्सवेल ।
अहिले तत्काल, संकटाको ६ खेलबाट १२ अंक छ र तेस्रो स्थानमा छ । च्यासल भने समान ६ खेलबाट ४ अंकमै सीमित रहेर १३ औं स्थानमा छ ।