काठमाडौं । एएफसी कप छनोटको सम्भावनालाई जीवन्त राख्ने हो भने मनाङ मर्स्याङ्दीले शनिबार पोखरामा हुने खेल जित्नै पर्ने हुन्छ ।
यो एक प्रकारको चर्को दबाब हुनेछ, तर धन्न, सहिद स्मारक लिग ए डिभिजनमा ब्रिगेड ब्वाइजको सामना गर्दा मनाङलाई विरलै मात्र गाह्रो हुने गरेको छ ।
लिगका पछिल्ला पाँच संस्करणमा यी दुई टिमबीच तीन खेल भएका छन् ।
मनाङ यी तीनै खेलमा विजयी रहेको छ । त्यसैल पोखरा रंगशालामा हुने खेलमा मनाङ लगातार जितको खोजीमा हुनेछ ।
मनाङले वर्ष ०७६ को लिगमा ब्रिगेड ब्वाइजमाथि १–० को जित निकालेको थियो र त्यसमा निर्णायक गोल गर्ने खेलाडी थिए, जगजित श्रेष्ठ ।
वर्ष ०७५ पनि मनाङ ३–१ ले विजयी रह्यो ।
वर्ष ०६८ मा भने मनाङले ठूलो अन्तरको जित निकालेको थियो । ब्रिगेड ब्वाइजका लागि बिर्सनलायक खेलमा यो टिम ७–० ले पराजित रहेको थियो ।
मनाङ ६ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा छ । ब्रिगेड ब्वाइज ६ खेलबाट ५ अंकमा १२ औं स्थानमा छ । यो स्थितिमा मनाङका लागि बराबरी पनि सहनयोग्य नतिजा हुने छैन् ।