काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा थ्री स्टार र जावलाखेल शनिबार भिड्दा यो विपरित दिशा लिएर अगाडि बढ्को टिमबीचको खेल हुनेछ ।
थ्री स्टार जहाँ लगातार बराबरीको खराब प्रदर्शन गरेर दबाबमा छ, त्यहीं जावलाखेल पछिल्ला दुई खेलमा लगातार जित निकालेर उत्साहित छ ।
त्यसैले कम्तीको अहिलेको परिस्थितिले जावलाखेल बलियो देखिन्छ । तर लिगका पछिल्ला संस्करणलाई आधार मान्ने हो भने थ्री स्टार बलियो छ ।
लिगका पछिल्ला पाँच संस्करणका पाँचै खेलमा थ्री स्टार तीन खेलमा विजयी रहेको छ भने एक खेलमा जावलाखेल । एक खेल बराबरीमा टुंगेको छ ।
वर्ष ०७६ को अन्तिम खेल गोलरहित बराबरीमा टुंगेको थियो । वर्ष ०७५ मा थ्री स्टार २–० ले विजयी रह्यो । वर्ष ०७० भने जावलाखेल २–० को जित निकाल्न सफल रहेको थियो ।
थ्री स्टारले वर्ष ०६९ मा लिग जितेको थियो र त्यस संस्करणमा उसले जावलाखेललाई ४–१ ले सजिलै हराएको थियो । वर्ष ०६८ पनि थ्री स्टार १–० ले विजयी रह्यो ।