बेसीसहर । लालीगुराँस युवा क्लबले बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शुक्रबार भएको खेलमा लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरअ ५-३ गोल अन्तरले हराएर लालीगुराँसले सुखद सुरुआत गरेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा लालीगुराँसका सुमित श्रेष्ठ, घनश्याम तामाङ, क्षितिज जिटी, विश्व थापा र प्रयास तामाङले गोल गरे ।
लमजुङका जाजा, म्याक्स्वेल र उमेश थापाले गोल गर्दा अजय चौधरीले गोल गर्न सकेनन् ।
अर्को खेलमा श्री भगवती युवा क्लबले श्री श्रीजङ गणलाई सडनडेथमा हरायो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो ।
सडनडेथमा श्री भगवतीका अनिल खड्का, उत्तम शाही, अनिश श्रेष्ठ र मोइसले गोल गरे ।
श्रीजङका भिम बिके, दोर्जे तामाङ, विनय महतले गोल गर्दा गोपाल शाक्य असफल भए ।
पेनाल्टी अघि सुबाश लामा बोम्जनले गोल गर्दै श्रीजङलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा मोइसले गोल गर्दै श्री भगवतीलाई बराबरीमा ल्याएका थिए ।
आगामी पुस २१ गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।