काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
शुक्रबार भएको खेलमा आर्मी अर्को विभागीय टोली एपीएफसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो ।
विभागीय डर्बीको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ६३ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
दिनेश हेन्जनको पासमा एपीएफका चार डिफेन्डर र गोलकिपरलाई जिल्लाउदै कार्कीले पेनाल्टी एरियाको बाहिरबाट गोल गरे ।
तर, खेलको ६७ औं मिनेटमा बिकी तामाङले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले कप्तान नविन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएपछि आएको रिबाउन्डमा गोल गरेका हुन् ।
यस बराबरीसँगै आर्मीले ७ खेलमा ११ अंक जोडेको छ ।
आर्मी चौंथो स्थानमा यथावत रहेको छ ।
एपीएफले ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा छ ।
खेल आर्मीका जर्ज प्रिन्स म्यान अफ दि म्याच चुनिए ।
यस्तै एपीएफका बिकी इमर्जिङ प्लेयर चुनिए ।