काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले पहिलो अंक जोडेको छ ।
सोमबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै जावलाखेलले लिगमा पहिलो एक अंक जोडेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडविरुद्ध हाबी भएपनि जावलाखेलले गोल निकाल्न सकेन ।
खेलको आठौं मिनेटमा जावलाखेलका फ्लोरेन्टले पेनाल्टी एरिया भित्रबाट बाहिर प्रहार गरे ।
खेलको १३ औं मिनेटमा जवालाखेलका रुप बहादुर लामाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको बल ब्रिगेडका गोलकिपर अन्जल श्रेष्ठले मुश्किलले बचाए ।
जावलाखेलले १४ औं मिनेटमा गोलको अर्को अवसर गुमायो । ब्रिगेडका गोलकिपर अन्जल अघि बढेको अवस्थामा ओन्गुना जुनियरले पेनाल्टी एरियाको ठिक बाहिरबाट फ्लिक गरेको बल बाउन्स हुँदै पोस्ट माथिबाट बाहिरिएको थियो ।
३० औं मिनेटमा जवालाखेलका जुनियरले अर्को मौका गुमाए । रुपको क्रसमा पेनाल्टी एरिया भित्रबाट उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
४० औं मिनेटमा ब्रिगेडका दिनेश राईको फ्रि-किकमा बेर्टराण्डको हेडरले पोस्टको दिशा लिन सकेन ।
खेलको ४२ औं मिनेटमा जावलाखेलका रुपको फ्रि-किकमा सन्त बहादुर गुरुङको हेडर पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।
पहिलो हाफको तुलनमा दोस्रो हाफमा ब्रिगेडले सुधारिएको प्रदर्शन गर्यो । तर, दुबै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् । दोस्रो हाफमा दुबै टोलीको आक्रमण फितलो देखिएको थियो ।
यस बराबरीसँगै जावलाखेलले ४ खेलमा १ अंक जोडेको छ । जावलाखेल १३ औं स्थानमा उक्लिएको छ ।
ब्रिगेडले ४ खेल ५ अंक जोडेको छ । ब्रिगेड सातौं स्थानमा उक्लिएको छ ।
खेलको म्यान अफ दि म्याच जावलाखेलका सुरज ज्यु ठकुरी चुनिए ।
यस्तै इमर्जिङ प्लेयरको अवार्ड ब्रिगेडका रोशन राना मगरले प्राप्त गरे ।
लिगमा पहिलो अंक जोडेपछि जावलाखेलका मुख्य प्रशिक्षक किशोर कुमार केसीले खुशी देखिए । तर, उनले रेफ्रीको आलोचना गरे ।
'पहिलो अंक ल्यएका छौ । खुशी छौ । तर, रेफ्रीको कारणले नेपालको फुटबलको विकास हुँदैन । हुन चाहिँ फिफा ब्याच छ । रेफ्रीले धेरै गल्ति गरिरहेका छन्,' उनले भने, 'फिफा रेफ्री हुदा हुँदै पनि किन खेलाइरहेको छैन । यो एन्फाकै षड्यन्त्र होकि । म रेफ्रीको बिषयमा कहिलै बोलिन सधै माया गर्ने मान्छे हु । तर, नबोली बस्न सकेन ।'
ब्रिगेडका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले तीन अंकको लागि खेलेको भएपनि एक अंक मात्र आएको बताए ।
'खेलको पहिलो हाफमा प्रेसर पर्यो । जावलाखेलले डिफेन्समा प्रेसर गरिरहेको थियो । दोस्रो हाफमा दुबैले उस्तै खेले । हामी पनि तीन अंकका लागि आएका थियौ तर अंक बाढ्न बाध्य भयौ,' उनले भने ।
प्रशिक्षक श्रेष्ठ समेत रेफ्रीको निर्णयमा खुसी देखिएनन् ।
'म पनि रेफ्रीको निर्णयमा खुसी छैन। ए डिभिजन लिगमा रेफ्रीको लेभल हुनु पर्ने हो त्यो छैन,' उनले थपे ।