काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार सातदोबाटो युथ क्लबले पहिलो हार व्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो न्युरोड टिम एनआरटीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
यस हारसँगै सातदोबाटोको अपराजित यात्रामा समेत पूर्णबिराम लागेको छ ।
हारपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले अघिल्ला खेलमा जस्तो खेल्न नसक्दा पराजित भएको बताए ।
'बिगत तीन खेलमा जुन पेसमा खेल खेल्थ्यौं आज थिएन । एकदमै स्लो देखियो । मिस पास बढी भयो,' पोस्ट म्याचमा उनले भने, 'एनआरटी निकै राम्रो टिम हो । अझै उसले सिर्जना गरे अनुसार स्कोर भएन ।'
एनआरटीसँग पराजित भएपछि सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।
यस्तै प्रशिक्षक केसीले टिमले अझै सुधार गर्नुपर्ने देखिएको बताए ।
'हामीले पाएको अवसर गुमायौं गर्यौं । समग्रमा भन्दा हामीले अझै मेहेनत गर्नु पर्नेछ,' उनले थपे ।
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य पहिलो जितपछि खुशी देखिए ।
'आज खुसी छु । ३ अंक आवश्यक थियो । त्यो पायौं,' प्रशिक्षक शाक्यले भने, 'खेलबाट अझै सन्तुष्ट छैन । जुन खेल्नु पर्ने थियो त्यो छैन ।'