काठमाडौं । न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गरे ।
तर, एनआरटीले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।
रोमान्चक खेलको पहिलो हाफमा सातदोबाटोले एकतर्फी खेल पस्किएको थियो । तर, गोल गर्न चुक्यो ।
सातदोबाटोका कप्तान मान बहादुर तामाङको क्रसमा निरज चौधरीको १३ औं मिनेटको हेडर एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाए ।
खेलको ३५ औं मिनेटमा सातदोबाटोका आकाश बुढा मगरले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल फ्रेममा पर्न सकेन ।
खेलको ३९ औं मिनेटमा एनआरटीका सरोज तामाङले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल सातदोबाटोका डिफेन्डर पिटर सेगुनलाई लाग्दै फर्किएको थियो ।
खेलको ४४ औं मिनेटमा एनआरटीका मेसुके ओलुमोउको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बराल बिट भईसकेको अवस्थामा कप्तान मान बहादुर तामाङले गोललाइन नजिकबाट क्लियर गरे ।
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा एनआरटीका स्टेफेन समिरको हेडरले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको सुरुवातमै एनआरटि गोल निकाल्यो । ४६ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । जुन गोल निर्णायक बन्यो ।
सातदोबाटोका करण रावतको 'मिस पास' मा मेसुकेले बल नियन्त्रणमा लिदै उपलब्ध गराएको बलमा समिरले सहजै गोल गरेका हुन् ।
खेलको ५९ औं मिनेटमा स्टेफेन समिरको प्रहार सातदोबाटोका गोलरक्षक अविशेक बरालले मुश्किलले जोगाए ।
एनआरटीका दर्शन गुरुङ ६५ औं मिनेटमा गोलरक्षकसँगको वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेन । पेनाल्टी क्षेत्र भित्रबाटको उनको प्रहार सातदोबाटोका गोलरक्षकअविशेकले बचाए ।
त्यस्तै खेलको ६७ औं मिनेटमा एनआरटीका दिपेश घलेको प्रहार क्रसबार भन्दा केहि माथिबाट बाहिरिएको थियो ।
खेलको ८१ औं मिनेटमा सातदोबाटोले बराबरी गर्ने मौका गुमायो । पेनाल्टी क्षेत्रभित्रबाट आकाश बुढा मगरको फितलो प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले सहजै रोके ।
यस जितसँगै एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ । एनआरटी सातौं स्थानमा उक्लिएको छ।
सातदोबाटोले ४ खेलमा ७ अंक जोडेको छ । सातदोबाटो तेस्रो स्थानमा रहेको छ ।
सातदोबाटोको यो पहिलो हार हो । यस अघि सातदोबाटोले दुई जित र एक बराबरी खेलेको थियो ।
एनआरटीसँगको हारसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
खेलमा एनआरटीका बिक्रम धिमाल म्यान अफ दि म्याच चुनिए ।
यस्तै इमर्जिङ प्लेयरको अवार्ड सातदोबाटोका गोलरक्षक अविशेक बरालले हात पारे ।