काठमाडौं । वर्ष ०७६ को सहिद स्मारक लिग ए डिभिजनमा सबैभन्दा विवादास्पद खेल रह्यो, हिमालयन शेर्पा र मछिन्द्रबीचको प्रतिस्पर्धा ।
त्यसमा हिमालयन २–० ले विजयी रहेको थियो र यही नतिजाका कारण मछिन्द्रको उपाधि यात्रामा अवरोध उत्पन्न भएको थियो ।
प्रशिक्षक प्रवेश कुटवालले त्यही बेला भनेका थिए, यो त अपेक्षा नै नगरेको नतिजा भयो ।
खेल विवादास्पद हुनु पछाडिका धेरै कारण थिए, जसलाई लिएर खालि अनुमान मात्र गर्न सकिन्छ । सातौं चरणको त्यस खेलमा पिटर सेगुनको आत्मघाती गोलले हिमालयन शेर्पा अग्रता लिन सफल रहेको थियो, त्यो पनि पहिलो मिनेटमै । त्यसपछि उसका लागि विजय श्रेष्ठले दोस्रो गोल थपे ।
धन्न मछिन्द्रले त्यसपछिका छ खेल लगातार जितेर उपाधिसम्म पुगेको थियो ।
यस्तोमा मछिन्द्रले यसपल्ट हिमालयनलाई हराउन सके, उसको अपराजित यात्रा दस खेल पुग्नेछ । तर इतिहासले भन्छ, हिमालयन अगाडि मछिन्द्र नतमस्तक हुने गर्छ ।
वर्ष ०७६ मा त मछिन्द्र पराजित रह्यो नै, वर्ष ०७५ मा पनि हिमालयनविरुद्ध २–० ले पराजित रहेको थियो ।
वर्ष ०७० मा भने मछिन्द्र सजिलै ४–१ ले विजयी रह्यो, तर वर्ष ०६९ मा हिमालयन ३–२ र वर्ष ०६८ मा ३–१ ले विजयी रहेको छ ।
त्यसको अर्थ दुई टिमबीचका पछिल्ला पाँच खेलमा हिमालयन चार पल्ट विजयी रहेको छ ।