काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र एनआरटीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
सातदोबाटो ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आज एनआरटीलाई हराएर सातदोबाटो शीर्ष स्थानमा उक्लन चाहन्छ । सातदोबाटो तेस्रो जितको खोजीमा समेत रहेको छ ।
एनआरटी २ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एनआरटी सातदोबाटोलाई हराएर पहिलो जित निकाल्न चाहन्छ ।
यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । शेर्पा र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
शेर्पा ३ खेलमा २ अंक जोडेर १० औं स्थानमा रहेको छ । आज मछिन्द्रलाई हराएर शेर्पा पहिलो जित निकाल्न चाहन्छ ।
यता, मछिन्द्र ३ खेलमा अपराजित रहेको छ । ७ अंक जोडेको मछिन्द्र चौंथो स्थानमा रहेको छ । शेर्पालाई हराएर मछिन्द्र शीर्ष टिमसँग अंक बराबरी गर्न चाहन्छ ।