काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज शनिबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
नेपाली टिम बंगलादेशलाई कडा चुनौती दिने योजनासहित मैदान उत्रनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले घरेलु टिमलाई कडा चुनौती दिने बताएका छन्।
'हामीले छोटो समयमा टोली तयार गर्नु पर्यो । तर, हामी घरेलु टोलीलाई कडा चुनौती दिनेछौं,' प्रि म्याच कन्फरेन्समा श्रेष्ठले भनेका थिए ।
बंगलादेशका प्रशिक्षक गुलाम छोटोनले प्रतियोगिताका लागि आफ्नो टिम बलियो रहेको बताए ।
'यो टोलीले लामो समयबाट खेल्दै आएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी टिममा छन् । हामीलाई घरेलु मैदानको फाईदा छ,' उनले भने, 'मैले भन्नु पर्छ । हामी राम्रो टिम हौँ ।'
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।
शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।
बंगलादेशपछि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ ।
नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ ।
फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।