काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार च्यासल युथ क्लबलाई सहजै पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले च्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक एक गोल गरे ।
जितपछि आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपाने टिमको अग्रपंक्तिबाट गोल निस्किएको भन्दै खुशी देखिए ।
'हरेक खेल उपाधी होडका लागि महत्वपूर्ण छ । आजको खेलमा स्ट्राइकरले गोल गरेको छ । त्यो हाम्रा लागि राम्रो पक्ष हो,' पोस्ट म्याचमा प्रशिक्षक न्यौपानेले भने 'आजको खेलमा हिले निकैनै दबाबमा राखेका थियौ ।'
च्यासललाई हराएपछि आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ८ अंक जोडेको छ ।
प्रशिक्षक न्यौपानेले टिममा अझै सुधारको आवश्यकता रहेको समेत बताए ।
'अझै सुधार गर्नु पर्ने छ । मिडफिल्डबाट जसरी गोल हुनु पर्ने हो भएको छैन । टिममा इन्जुरी पनि बढ्दै छ । त्यसको बाबजुद पनि टिमले केही लय समातेको छ,' उनले थपे ।
च्यासलका मुख्य प्रशिक्षक बाल गोपाल शाहुखलले पहिलो हाफमा राम्रो नखेल्दा टिमले हार व्यहोरेको बताए ।
'पहिलो हाफ खेल राम्रो भएन । खेलाडी राम्रो खेलेन । आर्मीले राम्रो खेल्यो,' उनले भने, ' दोस्रो हाफमा केही परिवर्तन गर्ने खोजेका थियौ । तर, गोल गर्न सकेनौ । आजको खेलमा केट्चा यानिकको अभाव खड्कियो ।'