काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबार भएको खेलमा च्यासल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक एक गोल गरे ।
आर्मीले दुबै गोल पहिलो हाफमा निकालेको थियो ।
खेलको १९ औं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । मिडफिल्डर टंक बस्नेतको क्रसमा कार्कीले हेडमार्फत उत्कृष्ट गोल गरे।
जगजितले खेलको ३६ औं मिनेटमा गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाए । गौतम श्रेष्ठ अघि बढाएर उपलब्ध गराएको क्रसमा पेनाल्टी एरिया भित्र अनमार्क रहेका जगजितले सहजै गोल गरे ।
आर्मीका सेसेहाङ आङदेम्बेको क्रसमा ४५ औं मिनेटमा कप्तान भरत खवासको हेडर च्यासलका गोलकिपर अर्पण कार्कीले मुश्किलले बचाए ।
विवेक बस्नेतको क्रसमा ४८ औं मिनेटमा जर्ज प्रिन्सको उत्कृष्ट हेडर क्रस बारमा लागेर बाहिरिदा आर्मी अग्रता तेब्बर बनाउन चुकेको थियो ।
आक्रामक खेल पस्किएको आर्मीले दोस्रो हाफमा थप गोल गर्न सकेन र खेल २-० मा सकियो ।
यससँगै आर्मीले च्यासलमाथि तेस्रो भेटमा समेत जित निकाल्न सफल भएको छ ।
आर्मीले च्यासलविरुद्ध अहिलेसम्म हार व्यहोरेको छैन ।
यस जितसँगै आर्मीले ४ खेलमा ८ अंक जोडेको छ । र, आर्मी शीर्ष दुईमा उक्लिएको छ ।
च्यासल ४ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
खेलको म्यान अफ दि म्याच आर्मीका जगजित श्रेष्ठ चुनिए ।
यस्तै इमर्जिङ प्लेयर आर्मीका विकास तामाङ चुनिए ।