इलाम । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको लागि माई नगरपालिका सुखानी र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको सेमिफाइनलमा विजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन् ।
सुखानीले रेडहर्स फुटबल क्लब इलाम र मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान २–० गोल अन्तरले पराजित गरेको थियो । पहिलो सेमिफाइनल खेलमा सुखानीको जितका लागि दोश्रो हाफको पहिलो मिनेटमा विक्रम तामाङले अग्रता दिलाए ।
खेलको अन्तिम मिनेटमा सौगात गोम्देनले गोल गरेपछि सुखानी फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच विक्रम तामाङ घोषित भए ।
मानेभञ्ज्याङको जीतका खेलको २० औ मिनेट र इन्जुरी समयमा सुराग क्षेत्रीले गोल गरे । खेलको म्यान अफ दि म्याच सुराग घोषित भए । माईजोगमाई गाउँपालिका–१ नयाँबजारको बालागुरु खेलमैदानमा संचालनमा रहेको प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । विधागत रुपमा समेत खेलाडीहरुले पुरस्कार पाउने छन् ।
माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषदले गत मंसिर २१ गतेबाट प्रतियोगिताको आयोजना गरेको हो ।