काठमाडौं । च्यासलले घरेलु नेपाली फुटबलको माथिल्लो डिभिजन खेल्न थालेको खालि तेस्रो सिजन मात्र चलिरहेको छ ।
त्यसमध्ये आर्मीविरुद्ध उसको प्रदर्शन खराब रहेको छ । आर्मीले आफ्नो ललितपुरको यस प्रतिद्वन्द्वीमाथि शतप्रतिशत जित निकालेको छ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शुक्रबार यिनै दुई टिम आमना सामना हुनेछ ।
यी दुई टिमबीच अहिलेसम्म जम्मा दुई खेल मात्र भएका छन् ।
वर्ष ०७६ मा आर्मीले च्यासललाई ३–० ले हराएको थियो ।
यस्तै च्यासलले ए डिभिजनमा डेब्यु गर्दाको लिग वर्ष ०७५ मा आर्मीले उसमाथि १–० को जित निकालेको थियो ।
त्यसैले जहाँ आर्मी त्यही जित क्रमलाई कायम राख्ने उद्देश्यमा हुनेछ भने त्यहीं च्यासलको काम त्यो क्रमलाई तोड्ने हुनेछ ।