काठमाडौं । परिस्थिति जस्तै रहे पनि मनाङ मर्स्याङ्दीलाई दु:ख दिने क्लबमा पर्छ, फ्रेन्ड्स ।
लिग इतिहासमा यस्ता धेरै मोड छन्, जहाँ फ्रेन्ड्सले मनाङलाई स्तब्ध पार्ने गरेका छन् ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शुक्रबार यिनै दुई क्लब भिड्दै छन् र यससँगै सुरु हुनेछ, प्रतियोगिताका चौथो चरणका खेल ।
फ्रेन्ड्सले वर्ष ०७६ को लिगमा मनाङलाई १–१ को बराबरीमा रोकेको थियो ।
मनाङले वर्ष ०७५ को लिग जित्दा पनि फ्रेन्ड्सको हातबाट आफ्नो अन्तिम खेलमा १–० को हार बेहोरेको थियो ।
यो खेल पनि जितेको भए, मनाङले लिगका सबै खेल जितेर उपाधि जित्ने दुर्लभ कीर्तिमान राख्न सक्थ्यो ।
वर्ष ०७० मा भने मनाङले फ्रेन्ड्समाथि सजिलो ४–० को जित निकालेको थियो । त्यस अगाडि वर्ष ०६९ मा यी दुईबीच दुई भेट भएकोमा दुवै खेल बराबरीमा रह्यो, क्रमश: गोलरहित बराबरी र २–२ को बराबरी ।
वर्ष ०६८ मा भने मनाङले फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्न सफल रहेको थियो ।