काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत भोलि शुक्रबार चौंथो चरणको दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र च्यासलबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
तीन खेलमा ५ अंक जोडेको आर्मी लिगको छैटौं स्थानमा रहेको छ । च्यासलविरुद्ध मैदान उत्रदा आर्मी स्पष्ट तीन अंकको खोजीमा हुनेछ ।
'हामी स्पष्ट तीन अंककै लागि खेल्ने छौँ । किनकि हामी उपाधिको दौडमा रहेको टिम हौँ । हाम्रो पहिलो लक्ष्य भनेको जित नै हो,' बिहीबार भएको प्रि म्याच कन्फरेन्समा आर्मीका सहायक प्रशिक्षक राजु तामाङले भने, 'हामीले च्यासलको यस अघिको खेल विश्लेषण गरेका छौँ । उनीहरुलाई कसरि हराउने भनेर योजना बनाई सकेका छौँ । त्यसले गर्दा तीन अंककै लागि खेल्ने छौँ ।'
सहायक प्रशिक्षक राजुले च्यासलले राम्रो गरिरहेको भएपनि उनीहरुलाई हराउने रणनीति टिमले तयार गरेको बताए।
'पछिल्लो दुई खेल च्यासलले राम्रो गरिरहेको छ । उनीहरुको युवा र विदेशी खेलाडीहरुले राम्रो गरिरहेको छ । उनीहरुको कमजोरी हामीले पत्ता लगाईसकेका छौँ । त्यसैले हामी उनीहरुलाई हराउने योजनामै छौँ,' राजुले थपे ।
च्यासलमा मुख्य प्रशिक्षक बाल गोपाल शाहुखलले आर्मी स्थापित टिम भएपनि डराउनु पर्ने अवस्था नरहेको बताए ।
'हाम्रो तयारी राम्रो छ । टिम विल्ड अपको काम गरिरहेका छौँ । उनीहरु स्थापित टिम हो । तर, हामीलाई धेरै राम्रो टिम हो जस्तो लागेको छैन,' शाहुखलले भने,'खेल ५०/५० को छ । त्यो दिन आर्मीले र हामीले कस्तो प्रदर्शन गर्छौ भने मात्र हो ।'
च्यासल तीन खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
प्रशिक्षक शाहुखलले आर्मीविरुद्ध अट्याकिङ फुटबल खेल्ने समेत बताए ।
'हामी हरेक खेल जितका लागि खेल्छौं । हामी अट्याकिङ खेल नै खेल्छौं । हामीले सबैकुरा विल्ड अप गर्दै छौँ,' उनले भने ।