काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत भोलि शुक्रबारबाट चौंथो चरणको खेलहरु सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार चौंथो चरणको सुरुआती दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अपराजित रहेको मनाङले ७ अंक जोडेको छ ।
फ्रेन्ड्सविरुद्ध मनाङको प्रशिक्षकमा टोपे फुजा हुनेछन् । नाइजेरियन प्रशिक्षक फुजा मंगलबार नेपाल आईपुगेका थिए । यस अघि राजेन्द्र तामाङले मनाङको टिम सम्हाल्दै आएका थिए ।
मनाङ फ्रेन्ड्सविरुद्ध अंक नगुमाउने योजनामा हुनेछ । र, मनाङ शीर्ष स्थानमा उक्लन चाहन्छ ।
मनाङका प्रशिक्षक फुजा हरेक खेलमा अंक नगुमाउने योजना रहेको बताउछन् ।
'अघिल्लो प्रशिक्षकले राम्रो गरेको छ । म त्यसलाई अझ सुधार गर्नेछु,' फ्रेन्ड्ससँगको खेल अघि फुजाले भने, 'हामी कुनैपनि अंक गुमाउन चाहदैनौं । त्यसका लागि काम गरिरहेका छौँ । लक्ष्य प्राप्त गर्नेमा मलाई विश्वास छ ।'
फ्रेन्ड्स लिगको दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।
तर, मनाङविरुद्ध मैदान उत्रदा फ्रेन्ड्सलाई चोटले सताउनेछ । यद्दपी मनाङविरुद्ध अंक खोस्न टिम तयार भएको फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रको दाबी छ ।
'मनाङ मर्स्याङ्दी राम्रो टिम हो । राम्रो टिमसँग कसरी खेल्ने त्यो तयारी गरेका छौँ । तर, हाम्रो कप्तान प्रकाश बुढाथोकी चार हप्ता खेल्न सक्दैन । अर्को स्ट्राइकर र प्रिजेन तामाङ गरि तीन खेलाडी चोटग्रस्त छ ,' उनले भने, 'तरपनि हामी मनाङसँग अंक खोस्ने गरि खेल्छौं । जित र बराबरीका लागि कोशिश गर्छौं ।'
प्रशिक्षक मिश्रले मनाङविरुद्धको खेल टिमका लागि महत्वपूर्ण भएको समेत बताए ।
'भोलिको खेल महत्वपूर्ण छ । हाम्रो टिमलाई हराउन सक्यौं भने हामी राम्रो पोजिसनमा आउन सक्छौं । भोलिको खेलले हामीलाई कुन पोजिसनमा रहने भन्ने निर्णय हुन्छ,' उनले थपे ।