काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन २०७८ को तेस्रो चरणको समाप्तिमा कुल ६ टिम अपराजित रहेका छन् ।
सबै खेलमा विजयी टिम भने अब तेस्रो चरणमा आएर रहेन् । दोस्रो चरणसम्म मनाङ मर्स्याङ्दीले सबै खेल जितेको थियो ।
मनाङसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको सातदोबाटो, डिफेन्डिङ च्याम्पियन मनाङ, संकटा, आर्मी र पुलिस अपराजित छन् । यसमध्ये तीन टिमले दुई दुई खेल जितेको छ ।
जावलाखेल र एपीएफ अहिलेसम्म सबै तीन खेलमा पराजित टिम रहेका छन् । यसमध्ये जावलाखेलले कुनै गोल गर्न सकेको छैन् र यसक्रममा गोल नगर्ने एक्लो टिम रहेको छ । जावलाखेलले लिगमा समग्र रूपमा ३ सय ५० मिनेट यता कुनै गोल गर्न सकेको छैन् ।
तेस्रो चरणमा कुल १८ गोल भए । त्यसमा एक ह्याट्रिक र दुई आत्मघाती गोल पनि रहे । त्यस आधारमा औसत २.५७ गोल भएका छन् । लिगमा समग्रमा तेस्रो चरण समाप्त हुँदा १.९५ को औसतले गोल भएका छन् ।
सातदोबाटोका अजयी मार्टिन्सले ह्याट्रिक गरे । जावलाखेलका सिमान्त थापा र सातदोबाटोका करण रावतले आत्मघाती गोल गरे ।
तेस्रो चरणमा चार खेल बराबरीमा टुंगिए र सबै खेलमा गोल भयो । दोहोरो पहेँलो कार्डका कारण सातदोबाटोका सुशील राई र च्यासलका यानिक केट्चाले चौथो चरण गुमाउने छन् । दोस्रो चरणमा कुल १८ पहिलो कार्ड देखाईएको छ ।