काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि बार्सिलोना बाहिरिएको हो।
नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा बार्सिलोना ३-० ले पराजित भएको हो ।
बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भएको हो ।
बायर्नलाई जित दिलाउन थोमस मुलर, लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे ।
घरेलु मैदानमा ३४ औं मिनेटमा मुलरले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए ।
खेलको ४३ औं मिनेटमा सानेले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३-० को सहज जित दिलाए ।
यस जितसँगै बायर्नले समूह ई बाट समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ ।
यस समूहबाट बेन्फिका उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
बेन्फिकाले ६ खेलमा ८ अंक जोड्यो ।
बेन्फिकाले समूह चरणको अन्तिम खेलमा डाइनामो किभलाई २-० ले हराएको छ ।
बायर्नले ६ खेलमा १८ अंक जोड्यो ।
बार्सिलोना ७ अंक जोडेर यस समूहको तेस्रो स्थानमा रह्यो ।