काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले बुधबार सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो जित निकाल्यो ।
जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गरे । जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोल गरे ।
जितपछि मछिन्द्र लिगको दोस्रो स्थानमा उक्लिएको छ । र, मछिन्द्रले उपाधि होडलाई कायम राखेको छ ।
जावलाखेलमाथिको जितपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवाल खुशी देखिए । उनले यस जितपछि टिमका खेलाडीको मनोबल उच्च भएको बताए ।
'जावलाखेल जस्तो बलियो टोलिसँग २-० ले जित्दा खुशी छु । हामी तालिकाको शीर्ष तिर आएका छौँ । यसले खेलाडीको मनोबल पनि बढेको छ,' उनले खेलपछि भने ।
प्रशिक्षक कटवालले सुरुआतमै गोल गरेको कारण जित सहज भएको बताए ।
'सुरुआतमै गोल गर्नु पुग्यौ र खेल्न सजिलो भयो । हाम्रो लक्ष्य उपाधि नै हो । तर, त्यति सजिलो छैन । सबै टोलि त्यतिनै बलिया छन्,' उनले थपे ।
जावलाखेलका मुख्य प्रशिक्षक किशोर कुमार केसीले गोलकिपरको कमजोरीले खेलमा पराजय व्यहोर्नु परेको बताए।
'खेलाडीले राम्रो खेलेका हुन् । आज गोलकिपरमा कमजोरी देखियो । एक गोल आत्मघाती थियो । दुबै गोल किपरको कमजोरीमा खाएका हौँ । गोलकिपरको प्रदर्शनमा दुखी छु,' केसीले भने, 'हामीसँग दुई थप किपर छन् । तर, अनुभव छैन, अब अवसर दिन्छु ।'