काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गरे । जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोल गरे ।
खेलको १४ औं मिनेटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले सुरुआती अग्रता बनाएको थियो । छिरिङ गुरुङले क्रस गरेको बल गोलकिपर टेकेन्द्र थापाले क्लियर गर्न नसक्दा सिमान्तलाई लाग्दै गोलमा परिणत भएको थियो।
जावलाखेलका निकोलस फर्नान्डेसले १९ औं मिनेटमा प्रहार गरेको बल मछिन्द्रका गोलकिपर विशाल राईले मुश्किलले बचाए ।
त्यसको एक मिनेट नबित्दै जावलाखेलका फर्नान्डेसले गोल गरे । तर, अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन ।
खेलको २१ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । डिफेन्डर रंजित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाएका थिए । नुर्लान नोभ्रुजोभलाई लोइस जिमी कोउहाहिमले फउल गरेपछि प्राप्त फ्रिकिकमा रंजितले सिधै गोल गरेका हुन् ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जावलाखेलका रुप बहादुर लामाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
यस्तै पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जावलाखेलका फर्नान्डेसले गोलको सुनौलो अवसर गुमाए । आमिर श्रेष्ठको क्रसमा सिक्स यार्ड बक्स भित्र अनमार्क रहेका उनले बाहिर प्रहार गरे ।
दोस्रो हाफमा दुबै टोलीले उलेख्य आक्रमण बुन्न सकेनन् ।
खेलको ७३ औं मिनेटमा मछिन्द्रका ओमोलाजा नुरेन करिमले पेनाल्टी एरियाको बाहिरबाट प्रहार गरेको फ्रिकिक जावलाखेलका गोलकिपर टेकेन्द्रले पन्च गर्दै बचाए ।
यस्तै ८२ औं मिनेटमा सुनिल बलले गोलको सुनौलो मौका गुमाए । पेनाल्टी एरिया भित्रबाट उनले बाहिर प्रहार गरे ।
यस जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ ।
मछिन्द्र दोस्रो स्थानमा समेत उक्लिएको छ ।
जावलाखेलको यो लगातार तेस्रो हार हो । १३ औं स्थानको जावलाखेलले अंक जोड्न सकेको छैन ।
खेलमा मछिन्द्रका रंजित धिमाल म्यान अफ दि म्याच चुनिए ।
खेलको इमर्जिङ प्लेयर जावलाखेलका सिमान्त थापा चुनिए ।