काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा बुधबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा र पुलिसले १-१ गोलको बराबरी खेलेको हो ।
हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा सुमन लामाले गोल गर्दै पुलिसलाई हारबाट जोगाए ।
सुरुआती अग्रता बनाएर पनि जित निकाल्न असफल भएपछि हिमालयन शेर्पाका मुख्य प्रशिक्षक युगल किशोर राई खुशी देखिएनन् । उनले योजना अनुसार खलं नसक्दा बराबरीमा रोकिनु परेको बताए ।
'खेलमा हार जित आफ्नै ठाउमा छ । तर, जुन हिसाबले हामीले खेल्छौं भनेर आएको थियौं त्यो फुटबल खेल्न सकेनौं,' खेलपछि प्रशिक्षक राईले भने, 'खेल विश्लेषण गरेर जसरि हामी उनीहरुविरुद्ध खेल्नु पर्ने थियो त्यो खेल्न सकेनौं ।'
प्रशिक्षक राईले पुलिसको खेल्ने शैलीलाई रोक्न ट्रेनिङ गरेपनि सफल नभएको बताए ।
'पुलिसले हाइ प्रेसिङ खेल खेलको थियो । त्यो रणनीतिविरुद्ध हामीले ट्रेनिङ गरेको थियौं । ट्रेनिङ अनुसार यहाँ खेल्न नसकेको कारणले गोल खान पुग्यौं र दबाबमा खेल्नु पर्यो,' उनले भने ।
पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापाले तीन अंकको लागि खेलपनि सफल नभएको बताए ।
'मैले अस्ति भनी सके सबै टिम १९-२० छ । ३ अंक प्राप्त गर्न अलिक गार्है छ । आजको खेलमा जुन अप्रत्यासित रुपले एक मिनेटमै गोल खान पुग्यौं । त्यसले अलि दबाबमा रहेर खेल्न पर्यो,' उनले भने ।
लिगमा अपराजित रहदा भने प्रशिक्षक थापा खुशी देखिए ।
'हामीले अट्याकीङ खेल खेल्यौं । बल पोसेसन राखौं । गोल समेत फर्कायौं। तीन अंककै लागि भनेर खेलेका थियौं । तर, तीन अंक आउन सकेन,' उनले भने, 'खाली हात फर्कनु परेन । अपराजित रहनु भनेको आगामी खेलको लागि महत्वपूर्ण छ ।'