काठमाडौं । दक्षिण अमेरिकी फुटबल खेलाडीमध्ये सबैभन्दा गोल गर्ने सूचीमा लियोनल मेस्सीले पेलेलाई उछिनेका छन्।
एउटा अर्को कोशेढुंगा उपलब्धीका लागि मेस्सीले युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि क्लब ब्रुगविरुद्ध दुई गोल गरे ।
मउरिसो पोचेटिनोको क्लबले प्राप्त गरेको यस यस ४–१ जितमा अर्जेन्टिनी स्टार मेस्सीको गोल तेस्रो र चौथो रह्यो । त्यसमा पनि उनको पहिलो गोल उनको खेल जीवनकै ७ सय ५७ औं गोल रह्यो । यसक्रममा उनले पेलेको नाममा रहेको आधिकारिक गोल संख्यासँग बराबरी गरेको थियो ।
दोस्रो हाफमा पेनाल्टीबाट मेस्सीले गोल गरेपछि यो उनको ७ सय ५८ औं ओल रह्यो र उनी भए, दक्षिण अमेरिकी खेलाडीमध्ये सर्वाधिक गोल गर्ने स्ट्राइकर । सर्वकालीन सबैभन्दा बढी गोल गर्ने सूचीमा भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो नै छन्, मेस्सीका सबैभन्दा ठूला व्यक्तिगत प्रतिद्वन्द्वी खेलाडी ।
रोनाल्डोले ८ सय १ गोल गरेका छन् र त्यसमध्ये आर्सलनविरुद्ध हालै गरेको पहिलो गोल आठ सयौं रह्यो । त्यसपछि उनले दोस्रो गोल पनि थपे र यो ८ सय १ औं गोल रह्यो । त्यसमध्ये क्लबका लागि ६ सय ८६ र पोर्चुगलका लागि १ सय १५ गोल रहेका छन् । आ–आफ्नो खेल जीवनको अन्त्यमा मेस्सी र रोनाल्डोमध्ये सबैभन्दा बढी गोल गर्ने खेलाडी को हुनेछन्, त्यो प्रतीक्षाको विषय हुनेछ ।
–मिररको सहयोगमा ।