काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हिमालयन शेर्पा र पुलिसले १-१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो ।
खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । मोइनुद्दीनको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट विश्वासले पोस्टको जाली चुमाए ।
पुलिसका मान बहादुर परियारले १४ औं मिनेटमा गोलको अवसर गुमाए । रबि पासवानको कर्नरमा सिक्स यार्ड बक्सबाट उनले बाहिर प्रहार गरे ।
खेलको ४७ औं मिनेटमा पुलिसका अन्जन राईले गोलको अवसर गुमाए । पेनाल्टी बक्सभित्रबाट उनको प्रहार पोस्टको माथिबाट बाहिरिएका थिए ।
५७ औं मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोले पेनाल्टी एरियाबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन।
दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा फर्काए । रबि पासवानको क्रसमा सिक्स यार्ड बक्सन अनमार्क रहेका सुमनले सहजै गोल गरे ।
खेलको ६३ औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरमा अन्जन राईको उत्कृष्ट हेडर बल हिमालयन शेर्पाका डिफेन्डर जीवन गुरुङले गोललाईनबाट क्लियर गर्दै गोल हुनबाट जोगाए ।
७४ औं मिनेटमा अन्जनकै प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले गोललाईनबाट बचाए ।
यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । पुलिस पाँचौ स्थानमा उक्लिएको छ ।
हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको १२ औं स्थानमा रहेको छ ।
खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका जीवन गुरुङ चुनिए ।
पुलिसका अन्जन राईले इमर्जिङ प्लेयर अवार्ड हात पारे ।