काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र आर्मीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् ।
आर्मीले दोस्रो मिनेटमै ब्रिगेडको पोस्टमा आक्रमण गर्यो । तर, जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरियाको ठिक बाहिरबाट प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।
नवौं मिनेटमा ब्रिगेडका रुडी जुनियरले पेनाल्टी एरिया भन्दा बाहिरबाट प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले सहजै आफ्नो पन्जामा पारे ।
खेलको २७ औं मिनेटमा ब्रिगेडका शिशिर लेखिकको फ्रिकिक फ्रेममा पर्न सकेन ।
पहिलो हाफको इन्जुरी समयमा ब्रिगेडका शिशिरको कर्नरमा ब्रेटराण्ड ओटोउको फ्री हेडर क्रसबार भन्दामाथिबाट बाहिरियो ।
आज ब्रिगेड दोस्रो जितको खोजीमा रहेको छ । ब्रिगेड दुई खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३-२ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।
आर्मी भने पहिलो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा आर्मीले जित निकाल्न सकेको छैन ।
आर्मी दुई खेलमा २ अंक जोडेर नवौं स्थानमा रहेको छ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा आर्मीले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।