काठमाडौं । बार्सिलोना अहिले आफ्नो क्लब इतिहासमै सबैभन्दा कमजोर र नाजुक स्थितिमा छ ।
एकातर्फ मैदानमा राम्रा नतिजा आइरहेको छैन् भने मैदान बाहिर क्लबका अध्यक्ष जोन लापोर्टा र प्रशिक्षक रोनाल्ड कोमनबीच नै मतभेदको स्थिति छ।
प्रत्येक दिन यी दुईबीच कुरा बाझेको सुन्न पाइन्छ र यसकै समाचार बनिरहेको छ ।
यस्तोमा क्लबका लेजेन्डरी कप्तान कार्लेस पुयोल अगाडि सरेका छन् र आफ्नो समर्थकको नाममा सन्देश छाडेका छन् ।
बार्सिलोनाले पछिल्लो समय आत्मसात् गरेको स्वर्णिम समयका कप्तान पुयोलले क्लबमा एकता नै आफू सम्हालिने एक मात्र अस्त्र भएको बताएका छन् र घुमाएर लापोर्टा र कोमनलाई एक आपसमा मिल्न भनेका छन् ।
कुरा कतिसम्म बिग्रेको छ भने अध्यक्ष लापोर्टा प्रशिक्षक कोमनलाई बर्खास्त नै गर्ने पक्षमा छन्, तर यस्तो निर्णय गर्दा कोमनलाई ठूलो आर्थिक क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ । त्यसैले मात्र उनी पछाडि रहेका छन् ।
कोमनले भने क्लबमा आफ्नो भविष्यलाई लिएर प्रश्न समेत नगर्न पत्रकारहरूलाई अनुरोध गरेका छन् ।
पुयोलले समाजिक संजालमा लेखेका छन्, ‘अहिले पक्कै पनि सजिलो समय छैन् । यही हामी सबै एकजुत हुने हो र एकले अर्कोलाई समर्थन गर्ने हो भने अगाडि बढ्न गाह्रो हुने छैन् । हामी सबै सधैं बार्सिलोनाकै समर्थनमा छौं ।’ बार्सिलोना समर्थकबीच पुयोलको ठूलो सम्मान छ र उनलाई विपक्षी टिम समेत भलाद्मी कप्तान मान्छन् ।
–मार्काको सहयोगमा ।