एजेन्सी । अच्राफ हाकिमी चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा नाटकीय जित दर्ता गरेको छ ।
इन्जुरी समयमा नाटकीय गोलसंगै पीएसजीले बुधबार राति मेट्जलाई २–१ गोल अन्तरले पराजित गर्यो ।
उनकै दुई गोलको सहयोगमा पीएसजीका प्रशिक्षक मौरिसियो पोचिटिनोले लिग वानमा लगातार सातौं खेलमा जित निकालेका छन् ।
मोरक्कोका डिफेन्डर हाकिमीले पाँचौ मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए ।
मेट्जका सेन्टर ब्याक बाउबकर कौयतले पहिलो हाफ सकिन ६ मिनेट अघि खेल बराबरीमा ल्याएका थिए ।
मेट्जका कप्तान डायलन ब्रोन दोस्रो हाफको इन्जुरी समयमा रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित बनेको थियो ।
नेयमारको पासलाई सदुपयोग गर्दै हाकिमीले खेलको अन्तिम समयमा पीएसजीलाई जित दिलाए ।
पीएसजी लियोनल मेस्सी बिना मैदान उत्रिएको थियो । घुँडाको चोटका कारण उनी आईतबार दोस्रो हाफमा मैदान बाहिर निकालिएका थिए ।
पीएसजीले लिग वानमा ७ खेलमा सतप्रतिशत जित सहित २१ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा छ । मेट्ज ३ अंक सहित तालिकाको पुछारमा छ ।