एजेन्सी । बार्सिलोनाका समर्थकले क्लबका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्तीको माग गरेका छन् ।
कोम्यानले डिफेन्डर जेरार्ड पिकेलाई फरवार्डको रुपमा खेलाएपछि क्लबका समर्थकले प्रशिक्षकको राजीनामा माग गरेका हुन् ।
स्पेनिस क्लब पछिल्लो समय गोलका लागि संघर्ष गरिरहेको छ । लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले यसै सिजन क्लब छाडेपछि बार्सिलोनामा गोलको खडेरी देखिएको छ ।
सोमबार बार्सिलोनाले गोलका लागि अन्तिम मिनेटनै कुर्न पर्यो । अन्तिम मिनेटमा गरेको गोलले बार्सिलोना हारबाट जोगिएको थियो र ग्रानाडासँग १–१ गोलको बराबरी खेलेको थियो । सोही नतिजाका आधारमा बार्सिलोना यस सिजन ला लिगामा अपराजित टिम छ ।
डिफेन्डर रोनाल्ड अराउजोको गोलको मदतले बार्सिलोना हारबाट जोगिएको थियो । तर टिमको खराब प्रर्दशनका कारण प्रशिक्षकको चर्को आलोचना भएको छ ।
सोमबार बेलुका कोम्यानलाई बर्खास्त गर्न माग गर्दै समर्थकले गरेको आलोचना ट्वीटरको ट्रेन्डिङमा छ । समर्थकले पिकेलाई अगाडी खेलाउने प्रशिक्षकको निर्णयको जवाफ माग गरेका छन् ।
स्पेनिस डिफेन्डरलाई ७५ औं मिनेटमा मैदान छिराईएको थियो । उनले मैदानमा प्रभाव समेत छाडेका थिए । उनले डिबक्समा बल नियन्त्रण गर्दै गोलको अवसर समेत सिर्जना गरेका थिए ।
यसअघि पिकेलाई प्रशिक्षक पेप ग्वार्डिओलाले सन् २०१० मा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसंग पराजित बनेको खेलमा अगाडी खेलाएका थिए ।
तर समर्थकहरु टिमको प्रर्दशनबाट धेरै असन्तुष्ट छन् । तर कोम्यान खेलाडीको प्रर्दशनको बचाउ गर्छन् ।
उनले भनेका थिए, ‘तपाईले टिम हेरिसकेपछि हामी टिकी टाका खेल्छौं भन्ने लाग्छ ?’
‘बार्सिलोना अहिले ८ वर्षअघिको बार्सिलोना जस्तै छैन ।’ उनले भनेका छन् ।
सोमबारको नतिजाले बार्सिलोना लिग तालिकाको सातौं स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ६ अंकले पछि छ ।
च्याम्पियन्स लिगमा घरेलु मैदानमा बायर्नसंग ३–० ले पराजित भएको ६ दिनपछि बार्सिलोनाले अर्को खराब नतिजा आत्मसाथ गरेको हो ।