काठमाडौं । रोबर्ट लेवान्डोस्कीले भर्खरै युरोपेली गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन जर्मन बुंडेसलिगामा उनले गज्जब खेले र कीर्तिमान ४१ गोल गरे ।
यही प्रदर्शनको मदतले बायर्न म्युनिखले सजिलै लिग उपाधि जित्न सफल भएको हो । अनि यही प्रदर्शनका कारण उनले उत्तिकै सजिलै युरोपेली गोल्डेन बुट अवार्ड पनि जिते ।
यही अवसरमा उनले एक खेलाडीको भने प्रशंसा गरेका छन् र ती हुन्, रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा । लेवान्डोस्कीका अनुसार बेन्जमा आफ्नो टिमका लागि जसरी खेल्छन्, त्यो नै उनको खेलको सबैभन्दा ठूलो विशेषता हो ।
पोलिस खेलाडीले भनेका छन्, ‘बेन्जेमा गोल गर्ने खेलाडी हुन नै, त्यो भन्दा ठूलो उनी टिमका लागि खेल्छन्, यो महत्त्वपूर्ण छ ।’
त्यसैले लेवान्डोस्की बेन्जेमालाई महान खेलाडी भन्न पनि पछाडि पर्दैनन् । त्यही अवार्ड कार्यक्रमका अवसरमा लेवान्डोस्कीले एउटा अर्को तथ्य पनि खुलाए र त्यो हो, उनले रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई दुई पल्ट भेटिसकेका छन् । यो भेटको कारण के हो त ? यो भने लेवान्डोस्कीले भन्न चाहेनन् ।
खासमा रियलले क्लबमा भित्र्याउन प्रयास गरिरहेका खेलाडीमा पर्छन्, लेवान्डोस्की । भनिन्छ, बायर्नसँगको अनुबन्ध सकेपछि अथवा बीचमै पनि उनी रियल जान सक्छन् ।
फेरि अर्को भनाइ पनि के रहेको छ भने लेवान्डोस्की बायर्नमै खुसी छन् । उनले अहिलेसम्म अन्यत्र जानु पर्ने कारण नै पाएका छैनन् । लेवान्डोस्की मान्छन्, ‘मेरोबारे हल्ला त भइरहन्छ ।’
–मार्काको सहयोगमा ।