काठमाडौं । इंग्लिस प्रिमियर लिगको चर्चित क्लब आर्सनलको नेपालमा रहेका समर्थकहरुको समूह आर्सनल नेपालको अध्यक्षमा पुन: नवीन चित्रकार निर्वाचित भएका छन् ।
आर्सनल नेपालको वार्षिक साधारण सभाबाट चित्रकार अध्यक्षमा निर्विरोध निर्वाचित भएको आर्सनल नेपालका संस्थापक रहेका आभास घिमीरेले जानकारी गराए ।
यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सबिन श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई चयन भएका छन् ।
सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, एलिना शाह ठकुरी र सरिता खड्गी निर्विरोध चयन भए ।
नयाँ समिति चयन भएपछि बसेको पहिलो बैठकले आर्सनल नेपाललाई नयाँ कार्यदिशा प्रदान गर्ने निर्णय गरेको छ।
विगतमा काठमाडौं र मोफसलको पोखरामा मात्र सिमित रहेको आर्सनल नेपालले आगामी दिनमा आफ्ना गतिविधिलाई अन्यत्र पनि विस्तार गरिने सञ्चालक समितिले जानकारी दिएको छ।
यस्तै साधारण सभामा आर्सनल नेपालले आफ्ना आधिकारिक सदस्यहरुलाई मायाको चिनो स्वरुप नेपाल एवं आर्सनल झल्काउने टिसर्ट तथा क्याप वितरण समेत गरेको थियो ।
साधारण सभा चर्चित लोकगायक तथा आर्सनलका फ्यान बद्री पंगेनीले प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उनलाई आर्सनल नेपालको मानार्थ सदस्यता पनि दिइएको थियो। सो अवसरमा अध्यक्ष नवीन चित्रकारले पंगेनीलाई आधिकारिक सदस्यता कार्डका साथै आर्सनल नेपालको आधिकारिक ‘मर्चेन्डाइज’ प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै आर्सनल नेपालका अध्यक्ष चित्रकारले १२ वर्षको यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आधिकारिक सदस्यता लिएका सबैलाई धन्यवाद तथा शुभकामना दिएका थिए।
अध्यक्ष चित्रकारका अनुसार ४ हजारको हाराहारीमा साधारण सदस्य रहेको आर्सनल नेपालमा यसपटक ७०० जनाले आधिकारिक सदस्यता लिएका छन्।
कार्यक्रममा आर्सनल नेपालका सचिव सबिन श्रेष्ठले स्वागत मन्तव्य राख्ने क्रममा आर्सनल तथा आर्सनल नेपालप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद पनि दिएका थिए।
यस्तै, उपाध्यक्ष निरोज खतिवडाले आर्सनल नेपालका गतिविधिहरुका बारेमा बताउँदै आगामी कार्यक्रमका विषयमा जानकारी दिए।
आर्सनल नेपाल लण्डनस्थित क्लबबाट मान्यता प्राप्त सपोर्टर्स क्लब हो। आभास घिमिरेले सुरुवात गरेको आर्सनल नेपाल सबैभन्दा पूरानो समर्थक समूहमध्येमा पर्दछ। आर्सनल नेपालले आर्सनलको खेल हेर्न जाने समर्थकहरुलाई खेल टिकट लगायतका कार्यहरुले समन्वयन गर्ने काम समेत गर्दछ ।
आर्सनलले आधिकारिकता प्रदान गरेको आर्सनल नेपाल ९ अगस्ट, २००९ मा स्थापना भएको थियो। आर्सनलले गत २७ साउनमा स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको थियो ।