काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो।
बलियो टिम फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो।
खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। विमलाले हेड मार्फत उत्कृष्ट गोल गरिन् ।
तर, विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन्। विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन्।
दोस्रो हाफमा भने फिलिपिन्स खेलमा फर्कियो।
खेलको ८९ औं मिनेटमा तहनाइ एन्निसले गोल गर्दै खेल १-१ गोल बराबरीमा ल्याईन् ।
त्यसपछि खेलको इन्जुरी समयमा विल्सन केमिलीले गोल गर्दै फिलिपिन्सलाई २-१ को जित दिलाईन् ।
यससँगै समूह एफ को नेपालले हारबाट छनोटको सुरुवात गरेको छ।
फिलिपिन्सले भने सुखद सुरुवात गरेको छ। र, पहिलो खेलमा ३ अंक जोडेको फिलिपिन्स शीर्ष स्थानमा रहेको छ।
यसै खेलबाट डिफेन्डर विमला विकले राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् ।
विमला खेलको ६३ औं मिनेटमा पुजा रानाको स्थानमा मैदान छिरेकी थिइन् ।
यस्तै नेपालले फिलिपिन्सविरुद्धको दोस्रो भेटमा समेत हार व्यहोरेको छ।
यस अघि सन् १९९९ को एएफसी महिला च्याम्पियनसिपमा नेपाल फिलिपिन्ससँग ५-० ले पराजित भएको थियो ।
अब नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त मंगलबार हुनेछ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।