काठमाडौं । थ्री नेसन्स कप खेल्न बंगलादेशी फुटबल टिम काठमाडौं आउँदा टिमका प्रमुख प्रशिक्षक जिमी डे भन्थे, ‘हाम्रो खास उद्देश्य अबको साफ च्याम्पियनसिपका लागि तयारी नै हो ।’
तर, जति बेला साफ च्याम्पियनसिप आइपुगेको छ, उनी आफै बर्खास्तीमा परेका छन् । भर्खरै बंगलादेशी फुटबल संघले डेलाई पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकबाट हटाएको छ ।
र, उनको स्थानमा आएका छन्, ओस्कर ब्रुजोन । बंगलादेशी मिडियाका अनुसार सन् २०१८ मा मात्र नियुक्त भएका डेलाई हटाउँदा बर्खास्ती शब्द प्रयोग गरेको छैन्, खालि भनेको छ, उनलाई जिम्मेवारीबाट मुक्त गरिएको छ ।
संघसँग उनको एक वर्षको अनुबन्ध अझै बाँकी थियो । डे आर्सनलका पूर्व खेलाडी हुन् ।
अबका प्रशिक्षक भने स्पेनी हुन् । अझ ठ्याक्कै भन्दा उनी बंगलादेशमा पछिल्लो समय सबैभन्दा सफल क्लब बसुन्धराका प्रशिक्षक हुन् । उनले साफ च्याम्पियनसिपका लागि बंगलादेशी टिमको तयारी पनि सुरु गरिसकेका छन् ।
सन् २०१८ देखि उनी बसुन्धराका प्रशिक्षक थिए । यसअघि उनले भारतको मुम्बई एफसी र माल्दिभ्सको न्यु रेडियन्ट पनि हेरिसकेका छन् ।
सम्भवत: माल्दिभ्समा फुटबल खेलाएको अनुभवकै कारणमा उनलाई नियुक्त गरिएको हुन सक्छ । उनी डे भन्दा केही हदसम्म हाइ प्रोफाइनल प्रशिक्षक हुन् । स्पेनमै छँदा उनले सेल्टा भिगोको युवा टिम हेरेका थिए । यस्तै रियल मार्लोकामा उनी सहायक प्रशिक्षकसम्म भए । अब उनको नेतृत्वमा बंगलादेशले कस्तो खेल्नेछ, त्यो हेर्न बाँकी छ ।