काठमाडौं । इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले उपयुक्त प्रस्ताव आएको खण्डमा क्लब छाड्ने बताएका छन् ।
उनले राम्रो प्रस्ताव आएमा आफुले क्लब छाड्ने जानकारी इन्टरलाई गराएका छन् ।
लुकाकुलाई लण्डन क्लब चेल्सीले अनुबन्धको प्रयास गरिरहेको छ । प्रिमियर लिग क्लबको ८५ मिलियन पाउण्डको प्रस्ताव इन्टरले अस्विकार गरिसकेको छ ।
लुकाकुकाे अघिल्लो प्रतिक्रियाले बेल्जियमका अन्तराष्ट्रिय फरवार्डलाई क्लबमै राख्न सक्नेमा इन्टर विश्वस्त थियो । लुकाकुले यसअघि आफु इन्टरमा खुसी रहेको बताएका थिए ।
पछिल्लो धारणा अनुसार लुकाकु चेल्सी फर्कन चाहन्छन् । उनले सन् २०११ देखि २०१४ सम्म चेल्सीमा बसेका थिए ।
इन्टरको वित्तिय अवस्था नाजुक छ । त्यसैले लुकाकुलाई चेल्सीसंग बेच्ने प्रक्रियालाई अपरिहार्य मानिएको छ ।
चेल्सी रकम थप गर्दै लुकाकुलाई अर्को प्रस्ताव पठाउने तयारी गरेको छ । यस समर ट्रान्सफरमा चेल्सीले लुकाकुलाई क्लब फर्काउन चाहेको छ ।
चेल्सीले स्पेनिस डिफेन्डर मार्कोस एलान्सोलाई लुकाकु सम्झौताको हिस्साको रुपमा राखेको छ ।
लुकाकुले सन् २०११ देखि २०१४ सम्म चेल्सीबाट खेलेका थिए । तर उनले मात्र १४ खेलमा सहभागी हुने मौका पाए । त्यसपछि उनी एभर्टनमा लोनमा गएका थिए । जहाँ लुकाकुले प्रभावशाली प्रर्दशन गरे ।
उनी क्लबमा पुन फर्कन खोजेका थिए । तर म्यान्चेष्टर युनाईटेडले उनलाई ७५ मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गरेको थियो ।
बेल्जियमका अन्तराष्ट्रिय खेलाडी सन् २०१९ मा इटालीको सिरि ए क्लब आएका थिए । उनी क्लबको कीर्तिमानी मुल्य ७४ मिलियन पाउण्डमा ५ वर्षका लागि इन्टरसंग सम्झौता गरेका थिए ।