काठमाडौं । यस्तो सबैले अनुभव गर्न थालेका छन्, सायद लिभरपुल अहिले आफ्ना पुराना खेलाडीमै खुसी छ । नत्र यस इंग्लिस प्रिमियर लिग क्लबले आफ्ना केही खास खेलाडीसँगको अनुबन्ध बढाउने काम गर्ने थिएन् ।
भर्खरै योर्गन क्लोपको टिमले आफ्ना ब्राजिली गोलरक्षक एलिसन बेकरसँग नयाँ अनुबन्ध गरेको छ । त्यस अनुसार उनी सन् २०२७ सम्म लिभरपुलमै रहने छन् ।
क्बललाई प्रिमियर लिगसँगै युरोपेली च्याम्पियन्स लिग जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका २८ वर्षीय एलिसन आएयता एक प्रकारले लिभरपुलको गोलरक्षकको समस्या पनि समाधान भएको छ । यसअघि लिभरपुलको एउटा खास समस्या गोलरक्षणमै हुन्थ्यो ।
यसअघि लिभरपुलले २७ वर्षीय फाबिनो र २२ वर्षी ट्रेन्ट एलेक्जान्डर आर्नोल्डसँगको अनुबन्ध पनि लम्ब्याएको थियो ।
त्यति मात्र होइन्, लिभरपुल ३० वर्षीय भर्जिल भान डाइक, २९ वर्षीय मोहम्मद सलाह र २७ वर्षीय एन्ड्रयु रोबर्टसनसँग पनि लामो अनुबन्ध गर्ने प्रयासमा छ, त्यसका लागि छलफल गरिरहेको छ ।
प्रिमियर लिगको उपाधि होडमा रहेका अन्य टिम नयाँ महँगा खेलाडी भित्र्याउने क्रममा रहेको बेला लिभरपुलको यो नीति अगाडि आएको हो ।
विशेषत: दुई म्यानचेस्टर क्लब सिटी र युनाइटेडले केही खेलाडी चर्को मूल्यमा किनेको छ, अथवा किन्ने क्रममा छ । यस्तै नीतिमा चेल्सी पनि देखिएको छ ।
तर लिभरपुलले भने आफ्नै पुराना खेलाडीमा विश्वास देखाएको छ । अझ ती पुराना खेलाडीको पारिश्रमक पनि बढाएर तिनलाई खुसी पार्ने प्रयासमा छ ।
एलिसनकै भाषामा भन्दा लिभरपुल अहिले आफ्नो परिवारलाई अझ मजबुत बनाउने प्रयासमा छ, त्यसको अर्थ त्यो परिवारमा अहिले तत्काल कोही नयाँ सदस्य चाहिएको छैन् ।
–द डेली मेलको सहयोगमा ।